डोल्पा। डोल्पा जिल्लाको शे–फोक्सुन्डो गाउँपालिका–८ मा अवस्थित विश्वप्रसिद्ध फोक्सुन्डो ताल पछिल्ला वर्षहरूमा पर्यटकहरूको प्रमुख गन्तव्य बनेको छ।
शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जका सूचना अधिकारी किशोरकुमार महतका अनुसार, पछिल्ला पाँच वर्षमा १९ हजार ५ सय ३७ जना पर्यटकले तालको भ्रमण गरेका छन्। तीमध्ये १७ हजार ७ सय १२ जना आन्तरिक र १ हजार ८ सय २५ जना विदेशी पर्यटक रहेका छन्, जसमा ९२ जना सार्क देशका हुन्।
निकुञ्ज प्रवेश दस्तुरमार्फत सो अवधिमा ७३ लाख ८४ हजार २ सय रुपैयाँ राजस्व संकलन गरिएको छ। स्वदेशी पर्यटकका लागि प्रवेश शुल्क रु. १००, सार्क देशका लागि रु. १,५०० र अन्य विदेशीका लागि रु. ३,००० तोकिएको छ।
समुद्री सतहदेखि ३,६११ मिटर उचाइमा रहेको फोक्सुन्डो ताललाई रिग्मो ताल नामले पनि चिनिन्छ। नीलो पानी र हिमाली दृश्यावलीका कारण यो तालको आकर्षण वर्षेनी बढ्दै गएको छ।
सडक अझै कच्ची र हवाई उडान नियमित नहुँदा पनि पर्यटक आगमनमा कमी आएको छैन। निकुञ्जका अनुसार, यदि दुनैसम्म सडक कालोपत्र र हवाई सेवा नियमित गर्न सकिएमा वार्षिक ५० हजारभन्दा बढी पर्यटक भित्र्याउन सकिनेछ।
काठमाडौं, पोखरा र नेपालगन्जबाट मोटरसाइकल तथा सार्वजनिक सवारीसाधनमार्फत डोल्पा पुग्न सकिने भएकाले फोक्सुन्डो ताल आन्तरिक पर्यटकको प्रमुख रोजाइ बनेको छ। दुनैदेखि सुलिगार्ड, काग्नी, छेप्का र तापरिजा हुँदै पैदल यात्रामा ताल पुग्न सकिन्छ।